Everest Face
नेकपा एमाले बेनीघाट रोराङ–१ को अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः सुरेन्द्र तामाङ 
अध्यक्ष, सुरेन्द्र तामाङ (मिलन) बायाँ ।

नेकपा एमाले बेनीघाट रोराङ–१ को अध्यक्षमा पुनः सुरेन्द्र तामाङ (मिलन) निर्वाचित भएका छन् ।

साेमबार सिमटारमा सम्पन्न पार्टीको वडा कमिटीको दोस्रो अधिवेशनबाट तामाङ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । 

उपाध्यक्षमा सरत तामाङ, सचिवमा आशिष लामा, उपसचिवमा अर्जुन तामाङ र निर्मला तामाङ निर्वाचित भएका छन् । 

सम्पूर्ण पदाधिकारीसहित २८ सदस्यीय वडा कार्यसमिति सर्वसम्मतले चयन भएको हो । कार्यसमितिलाई पूर्णता दिँदा ३१ सदस्यीय बन्ने छ । त्यसका लागि निर्वाचित समितिले तीन जना सदस्यलाई मनोनीत गर्नेछ । 

नेकपा एमालेका्े भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी परिषद्का महासचिव विकास विज्ञ गजेन्द्र थपलियाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । पछिल्लो निर्वाचनमा धादिङ–१ को ‘ख’ बाट बागमती प्रदेश सभा सदस्यको उम्मेदवार समेत रहेका थपलियाले बेनीघाट रोराङ–१ मा नेकपा एमालेको सङ्गठन बलियो रहेको तर थप सशक्त नेतृत्वको जरुरी रहेको औँल्याए । 

surendra--(3)-1716218474.jpg
गजेन्द्र थपलिया, महासचिव, नेपाल बुद्दिजीवी परिषद् ।

उनले भने, “म यस वडामा पहिलो पटक आइपुगेको छु । पछिल्लो निर्वाचनमा परिस्थिति वश आउन पाइनँ । यहाँ एमालेको सङ्गठन हेर्दा म सारै उत्साहित छु र अलिकति भावुक पनि भएको छु । यहाँका कमरेड साथीहरूले राम्रो गरिरहनुभएको छ, यद्यपि थप सशक्त बनाउन आवश्यक भने देखियो ।”

विकास विज्ञ समेत रहेका थपलियाले वडाको विकासका लागि विभिन्न योजनाहरू अघि सारिएको जानकारी दिए । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन लगायत क्षेत्रहरूलाई समेटेर वडाको विकासको लागि योजनाहरू अघि बढाएको उनले बताए । 

बजेट निर्माणको चरणमा रहेकाले कुन शीर्षकमा पर्छ भनेर तोक्न नसकिएपनि आफूहरूले अघि सारेका योजनाहरूमा बजेट विनियोजन हुने विश्वास रहेको उनले बताए । 

“अलि ढिलो यो वडामा आउन पाएको भए हुने थियो । मैले यस वडाको लागि केही न केही विकासको उपहार ल्याउने इच्छा थियो । तर, अलि छिटो कार्यक्रम पर्‍यो । यद्यपि अब १५ गतेपछि थाहा हुने नै छ ।” थपलियाले भने । 

त्यसैगरी नेकपा एमाले बेनीघाट रोराङका अध्यक्ष राजकुमार त्रिपाठीले आगामी निर्वाचनमा यस वडामा एमालेको जीत सुनिश्चित रहेको बताए ।

surendra--(2)-1716218474.jpg
राजकुमार त्रिपाठी, अध्यक्ष, नेकपा एमाले बेनीघाट राेराङ । 

उनले भने, “आगामी २०८४ को निर्वाचनमा यस वडामा एमालेको जीत सुनिश्चित छ । हामी पालिका नै जित्ने दौडमा छौँ । हाम्रो मिसन ८४ लाई ध्यानमा राखेर साथीहरूले काम गर्नुहोला । सङ्गठन निर्माण, विस्तार, जनभावनाको कदर गर्दै अघि बढ्नुहोला ।”

'समृद्द नेपाल र सुखी नेपाली' काे नारालाई सार्थक बनाउन एमालेकाे जीत जरुरी रहेकाे उनले बताए । पार्टीले अघि सारेका याेजनाहरू कार्यान्वयन गर्न पार्टीले जीत्नैपर्ने उनकाे भनाइ थियाे । 

पार्टीको वडा कमिटीले जनताको आवश्यकता र मागहरूलाई पार्टीको माथिल्लो तहसम्म पुर्‍याउन सम्बन्ध सेतुको रूपमा काम गर्न जरुरी रहेको उनले बताए ।

त्यसैगरी अधिवेशनबाट वडामा युवा सङ्घ गठन गरिएको छ । बिबश रुम्बा तामाङको नेतृत्वमा २७ सदस्यीय युवा सङ्घ गठन गरिएको छ । 

surendra--(1)-1716217358.jpg
अधिवेशनपछि सामुहिक तस्बिर ।

अधिवेशनमा नेकपा एमाले बेनीघाट रोराङ पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू, बेनीघाट रोराङ, गजुरी, सिद्दलेकका पार्टी इन्चार्ज, पार्टीको जिल्ला कमिटी सदस्यहरू, युवा सङ्घ बेनीघाट रोराङका पदाधिकारी तथा सदस्यहरू, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू, नेकपा माओवादी केन्द्र बेनीघाट रोराङ गाउँपालिका पार्टी कमिटी सदस्य एवम् स्थानीय बुद्धिजीवी वीर बहादुर तामाङ, स्थानीय समुदाय, सञ्चारकर्मी लगायत करिब डेढ सय जनाको उपस्थिति थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update