Everest Face
इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टर दुर्घटना, खोजी कार्य जारी 

इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकोप्टरमा यात्रारत रहेको पुष्टि गरेका छन् ।

उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य धेरै व्यक्तिहरू पनि चढेका थिए । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नु परेको थियो ।

त्यसपछि उक्त हेलिकोप्टरले ‘हार्ड ल्यान्डिङ’ गर्नुपरेको इसारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उक्त हेलिकोप्टर इरानी उच्च अधिकारीहरू लिएर उडिरहेका अन्य दुईसमेत गरी तीन हेलिकोप्टरसँगै उत्तरी इरानमा उडिरहेको थियो ।

मन्त्रीहरू र अन्य वरिष्ठ अधिकारी यात्रारत रहेका अन्य दुई हेलिकोप्टर भने सुरक्षित रूपमा गन्तव्यमा पुगेका छन् ।

इरानी आन्तरिक मामिलामन्त्रीका अनुसार उद्धार टोली घटनास्थलमा पुग्न प्रयासरत छ । खराब मौसमका कारण घटनास्थलसम्म पुग्न कठिन भएको बताइएको छ ।

उक्त क्षेत्रमा ४० भन्दा बढी उद्धार टोली खटाइएको विवरणहरू आएका छन् । त्यसमा आपत्कालीन कार्यमा प्रयोग हुने ड्रोनहरूको पनि उपयोग गरिएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update