Everest Face
बेनीघाट रोराङ–१ मा आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा

धादिङको बेनीघाट रोराङ–१ मा आधारभूत तह अनिवार्य र निःशुल्क तथा माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयन भएको घोषणा गरिएको छ । 

बेनीघाट रोराङ–१ को वडा कार्यालयले आज सिमटार आविमा एक कार्यक्रमको आयोजना गर्दै वडामा आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा गरेको हो । 

बेनीघाट रोराङ गाउँपालिकाले गाउँपालिकालाई आधारभूत तह अनिवार्य र निःशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा गर्न अभियान सञ्चालन गरिरहेको छ । सो अभियान अन्तर्गत आज वडा नम्बर एकलाई निःशुल्क तथा अनिवार्य शिक्षा लागु भएको वडा घोषणा गरिएको हो ।

suresh_Kumar-(1)-1715946127.jpg
घाेषणा गर्दै बेनीघाट राेराङ-१ का अध्यक्ष जीवन सिं तामाङ (दायाँ), सुरेश कुमार तामाङ, प्रअ, श्री बाँसखर्क मावि, (बायाँ) ।

कार्यक्रममा बेनीघाट रोराङ–१, का अध्यक्ष जीवन सिँ तामाङले वडामा ४–१३ वर्ष उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेकोले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको वडाको रूपमा घोषणा गरेको बताए । 

उनले भने, "वडाका सम्पूर्ण विद्यालय र  वडा शिक्षा समितिले अध्ययन गर्दा वडाका ४-१३ वर्ष समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको पाइयो । अबको दिनमा अभियान निरन्तर जारी रहने छ । कोही त्यस्तो छुटेको पाइए भर्ना गराउँछौँ ।" 

jeevan_tamang-1715946162.jpg
जीवन सिं तामाङ, वडाध्यक्ष, बेनीघाट राेराङ-१ । 

उनले २०८५ वैशाख १ गतेदेखि आधारभूत तह शिक्षा प्राप्त नगरेका नागरिकहरूले राज्यबाट पाउने कतिपय सुविधाबाट वञ्चित हुनसक्ने ऐनमा व्यवस्था भएको जानकारी दिँदै आफ्ना बालबालिकाहरूलाई अनिवार्य विद्यालय पठाउन अभिभावकहरूलाई आग्रह गरे ।  

अध्यक्ष तामाङले जारी अभियान, यसबारे कानुनी व्यवस्था, कार्यान्वयन प्रक्रिया, शिक्षासँग सम्बन्धित सरोकारवालाहरूले खेल्नुपर्ने भूमिका लगायत विषयमा ब्रिफिङ गरेका थिए । 

त्यसैगरी चिम्बाङ आविका प्रधानाध्यापक दिर्ग बहादुर थापाले विद्यार्थीहरूले अबदेखि कुनै पनि शीर्षकमा विद्यालयमा पैसा तिर्न नपर्ने र विद्यालयहरूले नलिने प्रतिबद्धता व्यक्त गरे । वडाका सम्पूर्ण विद्यालयहरूको प्रतिनिधित्व गर्दै प्रअ थापाले भने, “अबदेखि यस वडाका विद्यार्थीहरूले वडाभित्रका कुनै पनि विद्यालयमा कुनै पनि शीर्षकमा पैसा तिर्नु पर्दैन । वडाभरिका कुनै पनि विद्यालयले विद्यार्थीसँग पैसा नउठाउने प्रतिबद्धता व्यक्त गर्दछु ।” 

त्यसैगरी श्री बाँसखर्क माविका प्रधानाध्यापक सुरेश कुमार तामाङले वडामा आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणा गर्न पाउनु सुखद भएको र यसको कार्यान्वयनका लागि शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, वडा शिक्षा समिति, अभिभावक, विद्यार्थी, बुद्धिजीवी लगायत सम्बन्धित सरोकारवाला सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताए । 

suresh_Kumar-1715946127.jpg
सुरेश कुमार तामाङ, प्रअ, श्री बाँसखर्क मावि । 

“आधारभूत तह उमेर समूहका सम्पूर्ण बालबालिकाहरूलाई विद्यालय भर्ना र सम्मान, अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा बेनीघाट रोराङ गाउँपालिकाको अभियान” भन्ने मूल नाराका साथ गाउँपालिकाले अभियान चलाइरहेको छ । ०८१ जेठ मसान्तभित्र गाउँपालिकालाई निःशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा गर्ने तयारी गरिएको छ ।

गाउँपालिकाभित्र चार वर्षदेखि १३ वर्ष उमेर समूहका कुनै पनि बालबालिकाहरू विद्यालय बाहिर नरहुन् भन्ने उद्देश्यले बेनीघाट रोराङले निःशुल्क तथा अनिवार्य शिक्षा अभियान सञ्चालन गरिरहेको छ । 

बागमती प्रदेश सरकार, शिक्षा विकास निर्देशनालय, हेटौँडाको आर्थिक सहयोग र बेनीघाट रोराङको सञ्चालन र व्यवस्थापनमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा अभियान २०८०/०८१ सञ्चालन भइरहेको छ । 

नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको छ । संविधानको सो प्रावधानको कार्यान्वयनका लागि अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ जारी भइसकेको छ । सो ऐनको कार्यान्वयनका लागि स्थानीय तहलाई जिम्मेवारी दिइएको छ ।  

suresh_Kumar-(2)-1715946110.jpg
कार्यक्रममा उपस्थितिहरू । 

बेनीघाट रोराङ–१ का वडाध्यक्ष जीवन सिं तामाङको प्रमुख आतिथ्यता, श्री बाँसखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश कुमार तामाङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडाका सचिव निर्मला भुजेलले गरेकी थिइन् । 

कार्यक्रममा वडाका जनप्रतिनिधि, शिक्षक, राजनीतिक दलका प्रतिनिधि, अभिभावक, बुद्धिजीवी, सञ्चारकर्मी लगायत करिब एकसय पचास जनाको उपस्थिति थियो । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update