Everest Face
सुरक्षण मुद्रण केन्द्रमा रु.४० करोडभन्दा बढी भ्रष्टाचार

सुरक्षण मुद्रण केन्द्रमा ४० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा केन्द्रका पूर्व कार्यकारी निर्देशक सहित ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

सुरक्षण प्रेसका सफ्टवेयर तथा उपकरण खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल, पूर्व निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका पूर्व सीडीई नवीनकुमार पोखरेल र सामान आपूर्तिकर्ता म्याम्स इन्टरन्याशनल प्रालिका सीईओ अकबर हुसेनलाई विपक्षी बनाएको छ ।

त्यस्तै, अख्तियारले मुद्रण केन्द्रका पूर्व लेखा अधिकृत खड्कबहादुर थापा र पूर्व शाखा अधिकृत हरिबल्लभ घिमिरेलाई पनि विपक्षी बनाएको छ । उनीहरू पनि सुरुदेखि नै यसमा संलग्न रहेको अख्तियारले जनाएको छ ।

उनीहरूले मिलेमतो गरी सफ्टवेयर तथा उपकरण खरिद गरेको पाइएको अख्तियारले जनाएको छ । चारै जना मिलेर राज्यलाई ४० करोड ८५ लाख ५७ हजार ७४० रुपैयाँ हानिनोक्सानी पुर्‍याएको अख्तियारको अनुसन्धानमा देखिएको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा त्यही बराबरको बिगो असुल उपर गराउन पनि माग दाबी गरेको छ । यससँगै केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेललाई कैद सजाय पनि माग गरिएको छ ।

प्रेस विज्ञप्ति:- मिति २०८१।०१।३० गते।

 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update