Everest Face
नाटक 'म्यारिज प्रपोजल' पुनः मञ्चन हुने

नाटक 'म्यारिज प्रपोजल' पुनः मञ्चन हुने भएको छ । आन्तोन चेखभको लेखनमा चे शङ्करको छायानुवादमा नाटक 'म्यारिज प्रपोजल' कुञ्ज नाटक घरमा मञ्चन गर्न लागिएको हो । सङ्गीत सापकोटा र आशिष घिमिरेले नाटकलाई निर्देशन गर्नुभएको हो । 

कलासी प्रोडक्सनको प्रस्तुति एवं कर्मन कलासँगको सहकार्यमा नाटक जेठ १० गतेदेखि जेठ २७ गतेसम्म मञ्चन गर्न लागिएको निर्देशक द्वयले बताउनुभयो । निर्देशकका अनुसार,'नाटकले विसङ्गतिवादी विषयवस्तुलाई समावेश गर्दै मनोरञ्जनात्मकता झल्काउने प्रयास गरेको बताइएको छ । 

सन् १८९० को विषयवस्तुलाई समावेश गर्दै अहिलेको परिस्थिति सापेक्ष रूपमा नाटक तयार गरिएको बताइएको छ । सन् २०१८ मा मण्डला थिएटरमा प्रस्तुत गरिएको नाटकको विषयवस्तुलाई भारतको अलावादमा भएको कुम्भ फेस्टिभलमा सन् २०१९ मा मञ्चन गरिएको थियो भने, पुनः बङ्गलादेशको राजशाहिमा बोङंबोन्धु थिएटर फेस्टिभलमा प्रस्तुत गरिएको थियो । 

 नाटकमा ४ जना पात्रहरू रहनुभएको छ । जसमा विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धितालको अभिनय रहने छ । उक्त नाटकलाई सन् २०१८ मा ३ जना पात्रहरू मार्फत मञ्चन गरिएको थियो । नाटकले विभिन्न सामाजिक मनोभावनालाई आत्मसात् गर्दै आगामी पुस्ताका नेतृत्वदायी भूमिका चित्रणमा समेत ओत पुर्‍याउने विश्वास लिइएको छ । 

 करिब चालिस मिनेटमा समावेश रहेको नाटकको विषयवस्तुलाई परिष्कृत गर्दै १ घण्टा १० मिनेट नाटक समयावधि तय गरिएको छ । उक्त नाटकलाई सन् २०१८ मा काशी प्रोडक्सनले आफ्नो पहिलो प्रोजेक्टका रूपमा मञ्चन गरेको थियो । नाटक मञ्चनबाट प्राप्त रकम धादिङको गजुरीमा अवस्थित श्री चेपाङ निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग स्वरूप प्रदान गरिएको थियो । काशी 

कलाशी प्रोडक्सनले हालसम्म '२४ मा १२', 'अधेरी नगरी चौपट राजा', 'ज्ञानको चिहान' र समय पीडा नाटक मञ्चन लगायत विभिन्न क्षेत्रमा काम गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update