Everest Face
भोलिदेखि तामाङ र नेवारी भाषा बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने

वैशाख २४ गतेदेखि तामाङ र नेवारी भाषा नेपाली भाषाको अतिरिक्त बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागु हुने भएको छ । 

भोलि काठमाडौँको वसन्तपुरमा एक समाराेहबीच तामाङ र नेवारी भाषालाई बागमती प्रदेशको कामकाजको भाषाको रूपमा लागु भएको घोषणा गर्ने भएको छ । 

यस अवसरमा बागमती प्रदेशले प्रदेशभरि नै सार्वजनिक बिदा दिएको छ । भोलि प्रदेशभरिका सम्पूर्ण विद्यालयहरू बन्द हुनेछन् ।

बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०१/१२ को बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा वि.सं. २०८१ साल वैशाख २४ गते सोमबार बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

बागमती प्रदेश सरकारले गत २०८० कार्तिक २३ गते तामाङ र नेवारी भाषालाई नेपाली भाषाको अतिरिक्त प्रदेशको कामकाजको भाषाको मान्यता दिएको थियो । सोही दिन दुवै भाषालाई सरकारी मान्यता दिएका सूचना राजपत्रमा प्रकाशित गरिएको थियो ।  

राजपत्रमा प्रकाशित भएको छ महिना ( १ सय ८० दिन) पछि सो ऐन लागू हुने प्रावधान रहेको छ । सो बमोजिम भोलि वैशाख २४ गतेदेखि तामाङ र नेवारी भाषा बागमती प्रदेशको कामकाजको भाषाको रूपमा प्रयोग हुने भएको हो । 

संविधानको धारा ७ को उपधारा (२) मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update