धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पर्यटकीय दृष्टिकोणले महत्त्व बोकेर बसेको काेशी प्रदेशकै गौरवको रूपमा रहेको हिलिहाङ दरबार लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङकाे जिउँदो इतिहास हो । लिम्बु जातिको वीरता र गौरवको प्रतीक हो, हिलिहाङ दरबार ।
नेपाल एकीकरणको क्रममा वल्लो किराँत र माझ किराँतलाई कब्जामा लिएपछि गोरखाली फौज अरुणखाेला तरेर तत्कालीन विजयपुर राज्य अन्तर्गतको पल्लो किराँत प्रवेश गरे । नेपाल एकीकरण हुनुपूर्व यस क्षेत्रमा थुप्रै राजा रजौटाहरू थिए । भनिन्छ, प्रत्येक थुम्का-थुम्कामा छुट्टाछुट्टै राज्यहरू थिए । तीमध्ये हिलिहाङ योङहाङ याङवरक थुमका शक्तिशाली राजा थिए । उनले १८१४ देखि १८४४ सालसम्म ३० वर्ष शासन गरे ।
विक्रम संवत् १७८३ साल कात्तिक १८ गते तत्कालीन योङहाङ राज परिवारमा जन्मिएका हिलिहाङले १८१४ मा राजगद्दी सम्हालेका थिए । नेपाल एकीकरण अभियानमा लागेका पृथ्वीनारायण शाह नेतृत्वको फौजसँग हिलिहाङ राजाका सेनाले १७ पटकसम्म लडाइँ गरेको र हारजित नभएपछि १८३१ साउन २२ गते दुवैपक्षबीच सम्झौता (लालमोहर) भएको थियो । तत्कालीन याङवरक थुमका शक्तिशाली राजा हिलिहाङ योङहाङले राज्य गरेको इतिहास स्थानीय जनश्रुतिमा मात्र सीमित नभएर ऐतिहासिक हड्सन पाण्डुलिपिमा समेत वर्णन गरिएको छ ।
गोरखाली फौजले पूर्वी क्षेत्रका स–साना राज्यमाथि आक्रमण गर्दै याङ्वरक थुमको हस्तपुरगढीमा पुग्दा राजा हिलिहाङसँग १७ औँ पटकसम्म युद्ध गर्दा पनि हारजित नभएपछि लिम्बुवानलाई स्वायत्त अधिकार दिने गरी गोरखा–लिम्बुवानबीच सम्झौता भएको इतिहास छ । सम्झौतामा हिलिहाङ योङहाङ र उनका सन्ततिले हस्तपुर याङ्वरक (यक)मा शासन गर्न पाउने, शाह वंशीय राजालाई दाजु र लिम्बुवानका राजालाई भाइ मान्ने, केन्द्रीय सरकार गोरखालाई मान्ने, सम्भावित सबैतिरका आक्रमणलाई दुवै पक्ष मिलेर परास्त गर्ने लगायतका बुँदाहरूमा सहमति गरिएको थियो ।
विशाल नेपालमा गाभिएपछि स्वायत्त भनिए पनि स-साना राज्यहरू कमजोर हुँदै गए । केन्द्रीय शासन प्रणालीको दबाबमा ती स्वायत्त राज्यहरू विलीन हुँदै गए । अधिकार सम्पन्न र स्वायत्त राज्य भनेर तथाकथित सम्झौता गरिए पनि याङवरक थुम राज्य पनि कमजोर हुँदै गयो । स्वतन्त्र राज्य नरहेपछि राजा हिलिहाङ लिम्बुवानका अन्तिम राजा बन्न पुगे । राजा हिलिहाङकाे देहावसानपछि उनले शासन गरेको याङवरक थुम पूर्ण रूपमा नेपाल राज्यमा गाभिए । स्वायत्तता खोसियो । सम्झौताहरू तोडिए । उनले बसेर शासन सञ्चालन गर्ने गरेको हिलिहाङ दरबार पनि भत्किन थाले । राजदरबार र त्यसको परिसर जङ्गलमा परिणत भए ।
हाल काेशी प्रदेश अन्तर्गत पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका-४ मा अवस्थित छ यो, दरबार । हिलिहाङ गाउँपालिका र याङ्वारक गाउँपालिकाको सङ्गम स्थलमा अवस्थित हिलिहाङ दरबारको जिर्णाद्वार भइरहेको छ । वर्षाैँसम्म लथालिङ्ग पारिएको दरबार परिसर अहिले पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ । दरबारको भग्नावशेषहरूको संरक्षण थालिएको छ । नयाँ संरचनाहरू बन्ने क्रम जारी रहेको छ । ढलेको हिलिहाङ दरबार पुनः उठिरहेको छ ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको हिलिहाङ दरबार समुन्द्र सतहबाट करिब १ हजार ९ सय मिटर उचाइमा अवस्थित छ । दरबार करिब १३ सय रोपनीको क्षेत्रफल फैलिएको छ । पुरातात्त्विक सम्पदाहरूको भग्नावशेष संरक्षण, जीर्णोद्धार, दरबार क्षेत्र पुग्ने कच्ची सडकसँगै हिलिहाङ खेलमैदान र राजाको शालिक लगायत संरचनाहरू निर्माण भएका छन् ।
पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७ बमोजिम स्वीकृत भई हिलिहाङ गाउँपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागत साझेदारीमा हिलिहाङ दरबार प्यागाेडाशैली भवनको निर्माण भइरहेको छ । करिब चार करोड सात लाख असी हजार रुपैयाँको लागतमा प्यागाेडाशैलीकाे भवन निर्माण भएको छ ।
हिलिहाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ताेपेन्द्र कुमार लिम्बुका अनुसार सङ्ग्रहालय भवन निर्माण सम्पन्न भएको छ । तर, सङ्ग्रहालयमा कुनै पनि पुरातात्त्विक सामाग्रीहरू राखिएको छैन । राजदरबारको भवन पनि बनिसकेको छ । भवनको भित्री र बाहिरको सजावटको काम पनि बाँकी रहेको अधिकृत लिम्बुले बताए ।
सङ्ग्रहालयमा तोप, ढाल, तरबार, निशान, राजाको कन्तुर, हिलिहाङ झण्डा लगायत सामग्रीहरूका साथै विभिन्न जातजाति, भाषाभाषीका मौलिक सामग्रीहरू राखिने भएको छ । निर्माण कार्य जारी रहेता पनि दिनप्रतिदिन दरबार अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गइरहेको प्रमुख प्रशासकीय अधिकृत लिम्बुले बताए ।
"दैनिक १०-१५ जना आन्तरिक पर्यटकहरूले दरबार र दरबार परिसरको अवलोकन गरिरहेका छन्", लिम्बुले भने, "शनिवार, बिदाको दिन र विभिन्न चाडपर्वहरूमा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।"
मेचीराजमार्गबाट दरबारसम्म पुग्ने बाटोको स्तराेन्नतीकाे काम भइरहेको र आगामी आर्थिक वर्षभित्र कालोपत्रे गर्ने योजना रहेको उनले बताए । मेची राजमार्गको फिदिम खण्ड अन्तरगत हिलिहाङ चोकबाट साढे दुई किलोमिटरको दुरीमा दरबार अवस्थित छ ।
दरबारको थप संरचना निर्माण, व्यवस्थापन, पर्यटन प्रवर्द्धन तथा विकासको लागि पर्यटन विभागले गुरु योजना बनाइरहेको उनले बताए ।
पर्यटकीय सम्भावना
हिलिहाङ दरबार परिसरबाट कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल र पाथीभरा मन्दिर लगायत पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका थुप्रै रमणीय स्थलको दृश्यावलोकन गर्न सकिन्छ । त्यसका साथै दरबार आसपासका क्षेत्रमा पर्यटकीय स्थानहरू कालोपानी, आगेजुङ गुम्बा, जोरपोखरी, आगेजोङ किरात हाङसाम माङहिम, गोपेश्वर महादेव मन्दिर लगायत दर्जनौँ घुम्न लायकका अत्यन्तै रमणीय पर्यटकीय स्थलहरू रहेका छन् ।
करिब ६ सय वर्ष अगाडी दरकार निर्माण गर्न तिब्बतबाट ल्याइएका इँटा र युद्धमा प्रयोग गरिएका हतियार समेत रहेको यस स्थल पर्यटकीय सँगै पुरातात्त्विक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । तपाईँले पनि हिलिहाङ दरबार र आसपासका पर्यटकीय स्थलहरूको भ्रमण अवलोकन गरेर त्यहाँको सुन्दर प्राकृतिक हिमाली स्वच्छ हावापानीको भरपुर आनन्द लिनु सक्नुहुनेछ ।
मेची राजमार्ग अन्तर्गत पाँचथरको सदरमुकाम फिदिम हुँदै ताप्लेजुङ जाने गाडी चढेर नाङ्गीको हिलिहाङ चोकमा उत्रे पछि करिब आधा घण्टाको पैदल यात्रा हिँडेर हिलिहाङ दरबार पुगिन्छ ।
किराँत कालमा किराँती राजा हिलिहाङले गोर्खाली सेनाहरूसँग वीरतापूर्वक लडी सार्वभौमिकताको रक्षा गरेको यो स्थान ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । त्यसताका हिलिहाङले आफ्ना दुष्मनसँग लडाई गर्न प्रयोग गरेका खुँडा खुकुरी र तोप अहिलेसम्म सुरक्षित छन् । ती हतियारलाई पञ्चमी नागी र थर्पुका लिम्बु जातीले संरक्षण गरेका छन् ।
नेपाल राज्यको एकीकरणपूर्व पल्लो किराँत लिम्बुवानका नामले परिचित यो क्षेत्रका लिम्बू जातीको बहादुरीको कदर गर्दै उपहार स्वरूप पृथ्वीनारायण शाहले दिएका निशान पनि यहीँ छ। सोही निशान र हात हतियार प्रत्येक वर्ष बडादसैँको नवमीका दिन किराँत मुन्धुम अन्तरगत पूजा गरेर प्रदर्शन गर्ने चलन छ । यो बाहेक राजा हिलिहाङको दरबार निर्माणमा प्रयोग भएका इँटा हालसम्म पनि छन् ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पर्यटकीय दृष्टिकोणले महत्त्व बोकेर बसेको काेशी प्रदेशकै गौरवको रूपमा रहेको हिलिहाङ दरबार लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङकाे जिउँदो इतिहास हो । लिम्बु जातिको वीरता र गौरवको प्रतीक हो, हिलिहाङ दरबार ।