Everest Face
रारामा अस्ट्रेलियन कम्पनीले रिसोर्ट खाेल्ने

मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अस्ट्रेलियन कम्पनीले लगानी गर्ने भएको छ ।

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनको दोस्रो दिन सोमबार रिसोर्टमा लगानीका लागि अस्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो । लगानी सम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका छन् ।

मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्मा टपमा ८० रोपनी क्षेत्रफलमा बन्ने रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी गरिने भएको छ । त्यस्तै, दोस्रो चरणमा करिब ४० करोड रुपैयाँ बराबरको लगानी गरिने शाहले बताए ।

डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र कर्णालीको संस्कृति झल्किने गरी निर्माण गरिने जनाइएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन समेत बनिसकेको शाहले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update