Everest Face
नेकपा एमाले बेनीघाट रोराङको अध्यक्षमा राजकुमार त्रीपाठी सर्वसम्मतले चयन 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बेनीघाट रोराङको अध्यक्षमा राजकुमार त्रीपाठी चयन भएका छन् ।

आइतबार बेनीघाटमा सम्पन्न पार्टीको पालिका अधिवेशनले त्रीपाठीलाई सर्वसम्मतले चयन गरेको हो । 

पार्टीको पालिका उपाध्यक्षमा शिवराज तिवारी, सचिवमा प्रकाशराज विशुराल, उपसचिवमा नविन थपलिया र गीता सिलवाल चयन भएका छन् । 

सम्पूर्ण पदाधिकारीसहित ४० सदस्यीय पालिका पार्टी कमिटी नै सर्वसम्मतले चयन भएको नवनिर्वाचित अध्यक्ष त्रीपाठीले एभरेष्ट फेसलाई जानकारी दिए । 

440930665_10161098449889111_8507075948765938327_n-1714352890.jpg
सामुहिक तस्बिर । नवनिर्वाचित कार्यसमिति । 

अध्यक्ष त्रीपाठीले नवनिर्वाचित कमिटीले पार्टीलाई जनतासँग नजिक बनाउनमा जोड दिने बताए । उनले भने, “अहिले जनता र नेता अथवा पार्टीबीचको दुरी बढेको महसुस भएको छ । त्यसैले सबैभन्दा पहिला त हामी जनता र पार्टीलाई नजिक बनाउने काम गर्ने छौँ । जनताको हरेक सुख दुःखमा साथ दिने, उनीहरूको पिडामा मलम लगाउने काम गर्नेछौँ ।”

जनतासँग नजिक हुनका लागि प्रत्येक वडामा पार्टीलाई थप सक्रिय बनाउने र सो अनुरूप गर्न वडा पार्टी कमिटीहरूलाई सशक्त बनाउन जोड दिने अध्यक्ष त्रीपाठीले बताए । 

त्यसैगरी धादिङको बेनीघाट रोराङ गाउँपालिकामा नेकपा एमालेको पार्टी कार्यालय हालसम्म बन्न नसकेको बताउँदै पार्टीको कार्यालय बनाउन अविलम्ब पहल सुरु गर्ने उनले बताएका छन् । 

त्यस्तै नेपालको कम्युनिस्ट आन्दोलन र राजनैतिक परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका पुराना कम्युनिस्ट नेता तथा व्यक्तिहरूलाई सम्मान गर्ने योजना रहेको उनले बताए । 

अध्यक्ष त्रीपाठीले बेनीघाट रोराङ गाउँपालिकामा पार्टीलाई सशक्त बनाउन कुनै कसरत बाँकी नराख्ने बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update