Everest Face
गण्डकी र मधेशले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने, दुवै प्रदेशलाई जोड्ने प्रयासमा टेवान  

पर्यटन प्रवर्द्धनमा गण्डकी प्रदेश र मधेश प्रदेशले सहकार्य गर्ने भएको छ ।

अन्तरप्रदेश पर्यटन प्रवर्द्धनबारे (वैशाख १३-१५) तीन दिने अन्तरक्रिया कार्यक्रम लिएर मधेश प्रदेश पुगेका पोखराका पर्यटन व्यवसायी महिलाहरूको सङ्गठन टेवान टोली र मधेश प्रदेशका पर्यटन व्यवसायी तथा सरोकारवालाहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।  

हाेटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले शनिवार बर्दिबासमा आयोजना गरेको 'दिगो पर्यटनका लागि समान सहभागिता' विषयक अन्तरक्रियामा दुवै प्रदेशका पर्यटन व्यवसायी तथा सरोकारवालाहरूले मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ-आफ्नै विशेषता रहकोले सहकार्य गर्न जरुरी रहेको औँल्याएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समीर)ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए । मन्त्री भट्टराईले प्रादेशिक व्यापार तथा व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मधेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार रहेको जानकारी दिँदै विधेयक दर्तासँगै पर्यटन बोर्ड गठन गर्ने बताए ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री शारदादेवी थापाले तालैतालको सहर पोखरा झैँ मठमन्दिरको सहर जनकपुरलाई पनि चिनाउनुपर्नेमा जोड दिइन् । उनले बर्दिबासको राईमण्डलसहित विभिन्न क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको बताइन् ।

श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले पर्यटन क्षेत्र विकासको मेरुदण्ड रहेको बताउँदै श्रमिकहरूलाई सङ्गठित गरेर रोजगारी दिने क्षेत्र पर्यटन रहेकाले आयआर्जनको दिशामा अघि बढ्नुपर्नेमा जोड दिइन् । टेवानको सक्रियताप्रति प्रशंसा गर्दै उनले कोही न कोहीले यस्तै खालको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिइन् ।

टेवान अध्यक्ष कमला गिरीले पर्यटन विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य आवश्यक रहेको बताउँदै विगतमा पनि पोखरा–सिमरा तथा पोखरा–जनकपुर उडान भएकोमा पुनः निरन्तरता दिन जोड दिइन् । पर्यटनमैत्री नीति नियम बनाउनुपर्ने भन्दै उनले आन्तरिक पर्यटन प्रवर्द्धन गरी यहाँको पैसा बाहिर जान रोक्नुपर्ने उनले बताइन् । अध्यक्ष गिरिले बर्दिबासमा पनि अन्तर्राष्ट्रिय सेमिनार, गोष्ठीको पहल गर्नुपर्ने सुझाव दिँदै पर्यटन क्षेत्रमा प्रकृति, संस्कृति, पहुँच, सुविधा, विविध गतिविधि, विज्ञापन लगायतमा ध्यान दिनुपर्ने बताइन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश संरक्षक विजय झुनझुनवलाले मधेशमा पनि पर्यटन बोर्ड स्थापना गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश अध्यक्ष हिरालाल गौतमले मधेश प्रदेशका नाका खोल्नुपर्नेमा जोड दिए । बर्दिबासमा हतियार कारखानाको पुरातात्त्विक महत्त्व रहेको चर्चा गर्दै उनले पर्यटन क्षेत्रमा विनियोजित रकम खर्च गरेमात्रै धेरै काम हुन सक्ने विचार व्यक्त गरेका छन् । 

नाट्टा मधेश प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेले मधेश र गण्डकी प्रदेशबीच विगतमा झैँ सहकार्यको आवश्यक रहेको बताए । दुवै प्रदेशका छुट्टाछुट्टै विशेषताहरू रहेको र ति पर्यटकीय हिसाबले अत्यन्तै महत्त्वपूर्ण रहेको उनले बताए । अध्यक्ष लामिछानेले बाराको गढीमाईको प्रवर्द्धनका लागि गढीमाई भ्रमण वर्ष घोषणा गर्नुपर्ने बताएका छन् ।

टेवानले मधेश प्रदेशका पर्यटन व्यवसायी एवम् सराेकारवालाहरूलाई पोखरा घुम्न र पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन निम्तो दिएका छन् । 

435295555_7311095032278568_4284724731517336970_n-1714293498.jpg
पाेखरा घुम्न र पर्यटन सम्बन्धी अन्तरक्रियामा सहभागी हुन निम्ताे दिँदै टेवान अध्यक्ष कमला गिरि (दायाँ) ।

वि.सं. २०७४ मा पोखराका महिला पर्यटन व्यवसायीहरूले स्थापना गरेको टेवानले पोखराको मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन, विकास तथा विस्तारमा योगदान पुर्‍याउँदै आएको छ । टेवानकै सक्रियतामा दुई प्रदेशबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त भएका हुन् । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएसँगै उत्साहित भएका त्यहाँका पर्यटन व्यवसायीहरूले पर्यटनको विकासका लागि हर प्रयास गर्ने बताएका छन् । 

438231538_8101983859864184_1975658043532244041_n-1714293496.jpg
नेपाल हाेटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशले टेवानलाई  दिएकाे प्रशंसा पत्र ।


 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update