Everest Face
टानले गर्‍यो ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’को प्रवर्द्धनात्मक भ्रमण

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)ले सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकास्थित ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’को प्रवर्द्धनात्मक भ्रमण सम्पन्न गरेको छ ।

टानका प्रतिनिधि, पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीहरूको टोलीले वैशाख ११ देखि १३ सम्म पदमार्गको भ्रमण गरेको हो । 

टोलीले पदमार्गको अवलोकन गर्नुका साथै सो पदमार्गमा आयोजित दौड प्रतियोगितामा सहभागिता जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा नेपाल पर्यटन बोर्डले सुरु गरेको ‘जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना’को सहयोग र टानको प्रवर्द्धनमा माप्यदुधकोशी गाउँपालिकाले दौड प्रतियोगिताको आयोजना गरेको हो । 

हालै पहिचान गरिएको ‘लो एभरेष्ट’ क्षेत्रमा पर्ने उक्त पदमार्गको प्रवर्द्धन गर्न ‘एभरेष्ट भ्यू ट्रेल म्याराथन’ आयोजना गरेको हो । टानका कार्यसमिति सदस्य हेम बहादुर कार्कीको नेतृत्वमा गएको टोलीले पदमार्गसँगै उक्त गाउँपालिकाको पुरानो काँकुस्थित छाँगा झरनाको पनि अवलोकन गरेका छन् । 

एभरेष्ट दुधकोशी कल्चरल ट्रेल

विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुमा रहेको ‘एभरेष्ट दुधकोशी कल्चरल ट्रेल’ एक भर्जिन पदमार्ग हो ।  माप्यदुधकोशी गाउँपालिका र टानको संयुक्त पहलमा हालै पहिचान गरिएको यो पदमार्ग सगरमाथा तल्लो भागमा रहेको छ । समुन्द्री सतहबाट दुधकोशी नदिको कायास्थित नौ सय ४१ मिटरदेखि आरन डाँडाको भ्यूपोइन्ट तीन हजार तीनसय १० मिटरको उचाइसम्म फैलिएको यो पदमार्ग सबै उमेर समूह र सबै सिजनका लागि उत्कृष्ट पदमार्ग हो । सर्वोच्च शिखर सगरमाथासहित दुई दर्जनभन्दा बढी हिमशिखरहरूलाई नजिकैबाट अवलोकन गर्न सकिने यो पदमार्ग प्रकृति र संस्कृतिको खानी हो । 

लागिगुराँसको घनाजङ्गल, सुन्दर चौरहरू, जङ्गली जनावर, चराचुरुङ्गी, विभिन्न जडीबुटी एवम् वनस्पतिहरू, सुन्दर गाउँवस्ती, स्थानीय समुदायको जीवनशैली, रहनसहन, संस्कृति, गुम्बा तथा छ्योर्तेनहरू यस पदमार्गका आकर्षणहरू हुन् । हिमालयको तल्लो भागमा तँछाडमछाड गर्दै उभिरहेका सयौँ पहाडहरू, तिनका चुचुराहरू, हरियाली वनजङ्गलको अवलोकन गर्न पाइन्छ । 

सगरमाथा र त्यसको फेदसम्म पुग्न नसक्नेहरूका लागि यो पदमार्ग उत्कृष्ट रहेको टानका कार्यसमिति सदस्य हेम बहादुर कार्की बताउँछन् । 

पर्वतीय पर्यटन व्यवसायमा करिब चार दशकको अनुभव सँगालेका व्यवसायी कार्की भन्छन्, “सगरमाथा पुग्न नसक्ने तर सगरमाथा हेर्दै पदयात्रा गर्न चाहनेहरूका लागि यो पदमार्ग उत्तम छ । विश्वकै अग्लो चुचुरा हेरौँ भन्ने रहर सबैलाई हुन्छ तर सबै जना पुग्न सक्दैनन् । वृद्धवृद्धा तथा बालबालिकाहरु हिँड्न सक्दैनन् । हो त्यसता पदयात्रीहरूको लागि यो पदमार्ग स्वर्ग हो । परिवारसहित यात्रा गर्न सक्नुहुन्छ ।” 

यो पदमार्गको अधिकांश भाग माप्यदुधकोशी गाउँपालिकामा पर्दछ । सोताङ गाउँपालिका, सोलुदुधकुण्ड नगरपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका लगायत स्थानीय तहहरूलाई पनि यस पदमार्गले छोएको छ । 

सिलगुरी डाँडा, रत्नाङ्गे डाँडा, कुदाम, कुदाम हाइपोइन्ट, योतेल्म्या/भोटे खर्क, डाँफे भिर, झन्डी डाँडा, जोर ढुङ्गास्थित जलेश्वरी महादेव मन्दिर, सोला वन, धजे डाँडा, आरन डाँडा आदी मुख्य भ्यू पोइन्टहरु हुन् । 

यस पदमार्गमा परिसरमा राई, शेर्पा, तामाङ, मगर लगायत समुदायको बाहुल्यता रहेको छ । क्षेत्री, ब्राह्मण, नेवार, दलित लगायत समुदायको पनि बसोबास रहेको छ । 

कसरी पुग्ने ? 

काठमाडौँबाट एक दिनमा सिलिगुरी डाँडासम्म पुग्न सकिन्छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म सार्वजनिक यातायात बस अथवा सुमोमा जान पनि सकिन्छ । त्यसभन्दा माथि चाहिँ सुमो अथवा बोलेर हाइर गर्नुपर्ने हुनसक्छ । सल्लेरी काठमाडौँबाट २ सय ७० किमी रहेको छ । सल्लेरीबाट सिलिगुरी करिब १५ किमी रहेको छ । 

यस पदमार्गमा आफ्नो इच्छा र उपलब्ध समय अनुसार लामो वा छोटो यात्रा गर्न सकिन्छ । एक हप्ताको समय छुट्याँउदा राम्रो हुन्छ ।  पहिलो दिन काठमाडौँबाट सिलिगुरी, दोस्रो दिन घुम्नेमेरा हुँदै सिलिगरीबाट कुदाम, तेस्रो दिन कुदामबाट योतेल्म्या, चौथो दिन योतेल्म्याबाट राप्छा–खास्ताप, पाँचौँ दिन गाडीमा भुमेस्थान, पास्धास्थित सुन्दर झरना, महभिर, सिलिगुरी हुँदै सल्लेरी पुग्न सकिन्छ । छैटौँ दिनमा काठमाडौँ फर्किन सकिन्छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update