Everest Face
'एभरेष्ट भ्यू ट्रेल म्याराथन' भव्यताका साथ सम्पन्न

प्रथम 'एभरेष्ट भ्यू ट्रेल म्याराथन' (४७ किमि) भव्यताका साथ सम्पन्न भएको छ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा ‘एभरेष्ट दुधकोशी कल्चरल ट्रेल’मा बुधवार म्याराथन सम्पन्न भएको हो । 

प्रतियोगितामा पुरुषतर्फ सोलुखुम्बुकै महाकुलुङका अर्जुन कुलुङ राई र महिलातर्फ भारतको कालिङपाेङकी सविना राईले उपाधि हात पारेका छन् ।

Everest-Marathon-(1)-1714054721.jpg
पुरुषतर्फ समग्र प्रथम अर्जुन कुलुङ राई । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईबाट प्रमाणपत्र र पुरस्कार ग्रहण गर्दै ।

कुलुङले ४ घण्टा ३८ मिनेट ४६ सेकेन्ड र सविना राईले ६ घण्टा ९ मिनेट १० सेकेन्डमा  ४७ किलोमिटर दुरी पार गर्दै उपाधि हात पारेका हुन् । बुधवार बिहान ७ बजे माप्यदुधकोशी गाउँपालिकाको खास्तपस्थित रङ्गशालाबाट दौड सुरु भएको थियो ।

Everest-Marathon-(3)-1714054719.jpg
महिलातर्फ समग्र प्रथम सविना राई । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादवबाट पुरस्कार र प्रमाणपत्र ग्रहण गर्दै ।

प्रतियोगितामा पुरुष तर्फ होमलाल श्रेष्ठले ४ घण्टा ४७ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै द्वितीय स्थान हासिल गरेका छन्, भने ५ घण्टा १ मिनेट ५६ सेकेन्डमा पार गर्दै सुमन खालिङले तृतीय स्थान हासिल गरे ।  यस्तै महिला तर्फ ६ घण्टा ११ मिनेट ४० सेकेन्डमा पार गर्दै खोटाङका निर्मला राईले द्वितीय स्थान हासिल गर्दा, ६ घण्टा ४० मिनेट ३५ सेकेन्डमा पार गर्दै लाक्पा निङ्मा शेर्पा तृतीय भएकी छन् ।

यस्तै १८ देखी २९ वर्ष उमेर समूहका पुरुष तर्फ प्रथम द्वितीय र तृतीय हुने धावकहरू क्रमशः गोपाल तामाङ, उमेश राई र कुल बहादुर बस्नेत रहेका छन्, भने महिला तर्फ पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीहरू क्रमशः हुमि बुढा मगर, इन्द्र कला नेम्वाङ र चन्दना राई रहेका छन् ।  

यस्तै ३० देखी ४९ वर्षको उमेर समूहमा पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीहरूमा जङ्गवीर कुलुङ, क्षितिज कुलुङ र  टिकामान राई रहेका छन् । भने महिला तर्फ प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीहरूमा क्रमशः अनिता राई, सुस्मा राई र आङ छुटिङ शेर्पा रहेका छन् ।

Everest-Marathon-(2)-1714054721.jpg
दाैड सुरु गर्दै प्रतियाेगिहरू ।

यस्तै ५० देखी ६५ उमेर समूहको पुरुष तर्फको प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरू क्रमशः अन्तवीर राई, काजीमान राई र भीम बहादुर तामाङ रहेका छन् । यस्तै यस उमेर समूहको महिलातर्फ सुनबरी राई प्रथम भएकी छन् । यस उमेर समूहका महिला तर्फ उनी एक्ली प्रतियोगी थिइन् । 

तीन वटै उमेर समूहका महिला र पुरुष दुवैतर्फका प्रथम स्थान हासिल गर्नेलाई २०/२० हजार, द्वितीय हुनेलाई १५/१५ हजार र तृतीयले १०/१० हजारको दरले नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै सबै उमेर समूहमध्ये समग्रमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने महिला र पुरुष दुवैतर्फका प्रतिस्पर्धीलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजारको साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा २ सय ३ जना धावकहरूको उपस्थिति रहेको थियो ।

४७ किलोमिटर दूरीको उक्त प्रतियोगिता गाउँपालिकाको रङ्गशाला (कोर्कु) बाट शुरु भई रक क्लाइम्बिङ सेन्टर – सिलगुडी – घुम्नेमरा गुम्बा – कुधम हाइक्याम्प – योतेल्म्य पर्यटन सेल्टर – दिलुङ – खुस्कुम – खास्ताप – पर्यटन सूचना केन्द्र – प्लाम्दु हुँदै गाउँपालिका रङ्गशाला (कोर्कु)मा आएर समापन भएकाे हाे ।

गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले हालै पहिचान गरिएको पदमार्गमा म्याराथन प्रतियोगिताको आयोजना गरिएको हो । 'एभरेष्ट दुधकाेशी कल्चरल ट्रेल'सँगै गाउँपालिकाको पर्यटन प्रवर्द्धन, विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले दौड प्रतियोगिताको  आयोजना गरिएको माप्य दुधकाेशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण खालिङ राईले बताए । प्रथम म्याराथन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको र अर्को वर्ष एक सय किलोमिटर दूरीको दौड प्रतियोगिता आयोजना गर्ने उनले उद्घोष गरेका छन् ।

सो गाउँपालिकाका उपाध्यक्ष गौरव राईले दौड प्रतियोगिताले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको र आगामी दिनहरूमा पनि प्रतियाेगितालाई  निरन्तरता दिइने बताए । 

त्यसैगरी पर्वतीय पर्यटन व्यवसायीहरूकाे छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशाेसिएसन अफ नेपाल (टान)का कार्यसमिति सदस्य हेम बहादुर कार्कीले दौड प्रतियोगिताले हालै पहिचान गरिएको 'एभरेष्ट दुधकाेशी कल्चरल ट्रेल' को प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुगेको बताए । प्रतियोगिताको समापन पश्चात् सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले भने, "यस प्रतियोगिताले हामी टानसहितकाे सहकार्यमा पहिचान गरिएको नयाँ पदमार्गको प्रवर्द्धनमा सहयोग पुगेको छ । यति मात्रै नभएर यसले यस गाउँपालिकाको समग्र पर्यटनको प्रवर्द्धन, विकास र विस्तारमा पनि भूमिका खेलेको छ र खेल्नेछ ।"

सडकको विस्तारका कारण पदमार्गहरू मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नयाँ पदमार्गहरूको खोजी, पहिचान, निर्माण र प्रवर्द्धनमा टान लागि परेको बताए । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को प्रवर्द्धन,  संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको 'जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना' (एसटिएलआरपी)को आर्थिक सहयोगमा गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो ।

Everest-Marathon-(4)-1714054719.jpg
अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मिरा राई।

अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मिरा राई नेतृत्वकाे 'मिरा इनिसियटिभ्स' काे प्राविधिक सहयाेगमा प्रतियाेगिता सम्पन्न भएकाे हाे । राईकाे टिमले दाैडकाे लागि रुटकाे खाेजी, पहिचान र प्रतियाेगिताकाे व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update