Everest Face
पर्यटककाे राेजाइमा ब्राेम्दिङ 

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ मा अवस्थित ब्रोम्दिङ डाँडा अहिले पर्यटकहरूमा राेजाइमा पर्न थालेको छ । सन् २०२३ काे नाेभेम्बर पहिलाे साता प्रथम ब्रोम्दिङ पर्यटन महोत्सव सम्पन्न भएसँगै “लुकेको हिरा”को रुपमा रहेको ब्रोम्दिङ डाँडा पर्यटकहरूमाझ आएको हाे । आन्तरिक एवम बाह्य पर्यटकहरुका लागि जिज्ञासासहितको रोजाइको गन्तव्य बनेको छ, ब्रोम्दिङ ।

ब्रोम्दिङ डाँडामा काठमाडाैं, चितवन, हेटाैँडा लगातय विभिन्न सहरबाट पर्यटकहरू पुग्न थालेका छन् ।  पर्यटकहरूले ब्रोम्दिङ किन जाने ? के–के छन् ? कहाँबाट कसरी जाने/पुग्ने ? लगायतका जिज्ञासाहरू राखिरहेका छन् । यी जिज्ञासाहरूको सम्बोधन गर्ने प्रयास स्वरुप यो सामाग्री तयार पारिएको हो ।

ब्रोम्दिङ किन जाने ?

प्राकृतिक सुन्दरताको अवलोकन र शान्तिपूर्ण वातावरण

Bromding-Hills-(7)-1709277819.jpg
ब्राेम्दिङ गाउँ र ब्राेम्दिङ डाँडा परिसर । तस्बिरः चन्द्र तामाङ 

ब्रोम्दिङ डाँडा महाभारत पर्वत श्रृङ्खलामा पर्दछ । समुन्द्री सतहबाट एक हजार आठसयदेखि दुई हजार एक सय मिटरको उचाइमा रहेको ब्रोम्दिङ डाँडा प्राकृतिक सुन्दरताको अवलोकन गर्नका लागि उत्तम गन्तव्य हो । जहाँबाट उत्तरतर्फ दन्तेलहर जस्तै हिमश्रृङ्खला, हरियाली पहाड, गाउँबस्तीहरूको अवलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ हेटौँडा, विरगन्जदेखि भारतको रक्सौल बजारसम्म नियाल्न सकिन्छ । दक्षिणतर्फ ब्रोम्दिङभन्दा अग्ला पहाड अन्य छैनन्, जसले गर्दा दक्षिणको तराईको फाँटहरुदेखि उत्तरमा एकसय असी डिग्रीमा हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । ब्रोम्दिङ डाँडा आफैँमा सुन्दर र मनोरम त छँदैछ । डाँडाबाट सुर्याेदय र सूूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न पाइन्छ । दोलखाको शैलुङलाई भुलाउने सुन्दर थुम्काहरू, मकवानपुरको दामन भुलाउने टाकुरा, पोखराको साराङ्कोट भुलाउने आँखै अगाडी हिमश्रृङ्खला र दुवैतर्फ सुन्दर ठूला ठूला लमतन्न परेर बसेका गाउँहरूले ब्रोम्दिङ पुग्ने जोकोहीलाई मोहित बनाउने गर्दछ । ब्रोम्दिङ डाँडामा पुग्ने प्रत्येक पाहुनालाई स्वागत गर्न आतुर हुन्छन् गाउँ र गाउँलेहरू ।

ब्रोम्दिङ सहरबाट अलिक टाढा छ, र शान्त छ । सहरको कोलाहलबाट उम्कनेहरुका लागि उत्कृष्ट गन्तव्य हो, ब्रोम्दिङ । व्यस्त राजमार्ग, सहर बजारबाट टाढा एकान्तमा बसेको ब्रोम्दिङ शान्तिको खोजी गर्नेहरुका लागि स्वर्ग नै हो । स्वच्छ र शान्त वातावरणमा प्रकृतिसँग रमाउनका लागि गज्जबको गन्तव्य हो, ब्रोम्दिङ ।

संस्कृति र जीवनशैली

Bromding-Hills-(2)-1709277817.jpg
जरुङ गाउँमा काेदाे टिप्दै स्थानीय कृषक । 

ब्रोम्दिङ डाँडामा विशुद्ध तामाङ समुदायको बसोबास रहेको छ । सो समुदायको संस्कृति, भाषा, भेषभुषा, रहनसहन र जीवनशैलीको अध्ययन गर्न पाइन्छ । उनीहरूको जीवनशैली र दिनचर्यासँग आफूलाई पनि समाहित गरेर गाउँले जीवन परिवेशको आनन्द लिन सकिन्छ । विनोदप्रिय तामाङ समुदायमा पुगेपछि नाचगान छुट्टाउने कुरै भएन । नयाँ पाहुनाको आगमन भएसँगै मौलिक गीतसंगीत र गानबजानमा रमाउँछन् र पाहुनालाई पनि पुलकित बनाएर पठाउँछन् । मौलिक तामाङ सेलो, घाँसे गीत, काठेभाका लोकदोहोरी बढी रुचाउँछन् ।

संघीय राजधानी काठमाडौं, पर्यटकीय नगरी पोखरा, बागमती प्रदेशको राजधानी हेटौँडा, औद्योगिक नगरी विरगन्ज लगायत सहरबाट तीनदेखि पाँच घण्टामा पुग्न सकिने ब्रोम्दिङले त्यहाँ पुगेपछि सहरलाई चटक्कै भुलाइदिन्छ ।

ब्रोम्दिङका बासिन्दा कृषिमा निर्भर छन् । उनीहरूको दिनचर्या जस्तै घाँस दाउरा, गोठाला, मेलापात लगायत गतिविधिले गाउँले जीवनको झल्को दिन्छ । जसले सहरबाट पुगेका पाहुनाहरुलाई नयाँ जीवनशैली र रहनसहनसँग परिचित हुने अवसर प्रदान गर्दछ । सहरबाट खासै टाढा नभएपनि सहरलाई भसक्कै बिर्साएर पाहुनालाई उन्मत्त बनाउँछ, ब्रोम्दिङ । यो ब्रोम्दिङको मुख्य विशेषता हो ।

अर्ग्यानिक खानपानको स्वाद

Bromding-Hills-(1)-1709277818.jpg
जरुङ गाउँ हाेस्टेमा तयार पारिएकाे स्थानीय खाना । मकैकाे ढिँडाे, लाेकल कुखुराकाे मासु, अचार, साग । तस्बिरः चन्द्र तामाङ ।

सहरबाट थोरै टाढा बसेको र बजारको हावाले खासै नछोइसकेको ब्रोम्दिङ डाँडाको अर्काे विशेषता भनेको अग्र्यानिक खानापानको स्वाद हो । पर्यटन भन्ने वित्तिकै खानपानले निकै महत्व राख्दछ । कुनै ठाउँमा घुम्न जाने भनेपछि पहिले नै सोधिहाल्ने गर्छन, त्यहाँ के खाना पाइन्छ ?

धान नफल्ने भएकाले मकै, कोदो, फापरको ढिँडो, कोदो र फापरको रोटी ब्रोम्दिङको मुख्य खाना हो । सिजनअनुसार मस्याङ, विभिन्न प्रजातिका सिमी, राजमा, आलु, मुला, काउली, बन्दागोभी, विभिन्न सागसब्जी लगायतका तरकारीहरू उत्पादन हुन्छ । लसुन, प्याज, अदुवा, धनियाँ, बेसार, खुर्सानी, जिम्मु लगायत मसलाजन्य उत्पादनहरु हुन्छ । त्यसैगरी पेय पदार्थमा मकै र कोदोको शुद्ध लोकल रक्सी, निगार(जाँडको झोल), जाँड(छ्याङ), तोङ्बा आदि पाइन्छ ।

मासुजन्य पदार्थमा शुद्ध लोकल कुखुराको मासु, खसी, बोका, राँगाको सुुकुटी पाइन्छ । ब्रोम्दिङ डाँडामा पुग्ने पाहुनाहरु लोकल रक्सी(आइराक), लोकल कुखुराको मासु र ढिँडोसँग बढी मोहित हुने गरेका छन् ।

घरबास (होमस्टे)को व्यवस्था 

आफ्नो गाउँठाँउ, डाँडा, पाखापखेरा पाहुनाहरूको रोजाइमा पर्न थालेपछि स्थानीय समुदायले घरबासको प्रवन्ध गर्न थालेका छन् । ब्रोम्दिङ डाँडामा सामुदायिक होमस्टे निर्माणकार्य अघि बढेको छ । निकट भविष्यमै ब्रोम्दिङ डाँडामा घरबासको तयारी हुने स्थानीयले बताएका छन् । होमस्टेको औपचारिक घोषणा नभइसकेपनि अहिले ब्रोम्दिङमा पुग्ने पाहुनालाई राम्रै गाँसबासको व्यवस्था छ । बाहिरबाट आउने पाहुनाहरूलाई खाने, रम्ने र बस्ने सुविधा दिइरहेका छन् । ब्रोम्दिङमा आउने पाहुनाहरूले गाँसबासको चिन्ता लिनुनपर्ने स्थानीय बाबुलाल तामाङले बताए । वडा सदस्य समेत रहेका उनले भने, “हामीले घरबासको निर्माण थालेका छौँ, निकट भविष्यमै घोषणा हुनेछ । तर, अहिले पनि यहाँ आउने पाहुनाहरूले गाँसबासको चिन्ता लिनुपर्दैन, हामी व्यवस्था गर्छौँ र गरिरहेका छौँ ।”

त्यसैगरी वडाकै ठूलाे अनि सुन्दर गाउँ जरुङमा पनि हाेमस्टे स्थापना गरिएकाे छ । स्थानीय शान्ती तामाङले हाेमस्टे सञ्चालनमा ल्याएकी छन् । उनले परिक्षणकाे रूपमा सञ्चालनमा ल्याएकाे हाेमस्टेमा थुप्रै पाहुनाहरूले सेवा लिइसकेका छन् । शान्ती तामाङ र  विर बहादुर तामाङ दम्पतीकाे सेवाबाट पाहुनाहरू खुसी भएका छन् । हालसम्म दश भन्दा बढी समुहलाइ सेवा दिइसकेका उनीहरू अब हाेमस्टेलाइ थप व्यवस्थित ढङ्गले सञ्चालन गर्ने तयारीमा छन् । 

त्यसैगरी ब्रोम्दिङ गाउँका स्थानीय चन्द्रमान तामाङले ब्रोम्दिङ डाँडामा पुग्ने पाहुनालाई गाँसबासको व्यवस्था गर्दै आएका छन् । गाउँमा पाहुना आउन थालेपछि आफूहरु निकै उत्साहित भएको तर पाहुनालाई कसरी सेवासुविधा दिने भन्ने विषयमा अलमल भइरहेका बेला सामुदायिक होमस्टेको अवधारणा अघि बढेपछि खुशी लागेको चन्द्रमान बताउँछन् । उनले अहिले आफ्नो घरलाई २० जनासम्म पाहुनालाई गाँसबास दिनसक्नेगरी घरबासको रुपमा रुपान्तरण गरेका छन् ।

ब्रोम्दिङ पुग्दा छुटाउन नहुने सुन्दर गाउँः जरुङ

Bromding-Hills-(3)-1709277815.jpg
बेनीघाट राेराङ-१ काे सबैभन्दा ठूलाे गाउँ जरुङ । तस्बिरः चन्द्र तामाङ 

ब्रोम्दिङ पुग्दा छुटटाउनै नहुने अर्काे गन्तव्य हो सुन्दर जरुङ गाउँ । बेनीघाट रोराङ गाउँपालिका–१ को सबैभन्दा ठूलो र सुन्दर गाउँ हो जरुङ । जरुङ गाउँमा पनि विशुद्ध तामाङ समुदायको बसोबास रहेको छ । ब्रोम्दिङ डाँडा र जरुङ गाउँको बीचमा हावापानी, खानपान, जीवनशैली र रहनसहनमा निकै भिन्नता छ । एकसय बीस भन्दा बढी घरधुरी रहेको जरुङ गाउँ समुन्द्री सतहबाट बाह्रसय देखि तेह्रसय पचास मिटरको उचाइमा फैलिएको छ । न्यानो शमशितोष्ण हावापानी पाइने हुनाले जरुङ गाउँमा बेँसीमा फल्ने सुन्तला, अम्बा, केरा लगायत लेक र बेँसीमा फल्ने थुप्रै प्रकारका फलफूल तथा तरकारीहरू पाइन्छ । जरुङ गाउँमा पनि घरबास(होमस्टे)को व्यवस्था गर्ने तयारी थालिएको छ । ब्रोम्दिङ डाँडा पुग्ने पाहुनाहरू जरुङ गाउँमा पनि पुग्न थालेपछि स्थानीय होमस्टेको व्यवस्था गर्न लागेका छन् । स्थानीय श्री जरुङ सिम्टार आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको शिक्षक वीर बहादुर तामाङले आफ्नो घरलाई होमस्टे बनाउन लागेको बताएका छन् । होमस्टेको लागि दुई वटा घर तयार रहेको र सजावटको काम भइरहेको उनले बताएका छन् ।

ब्रोम्दिङ पुग्दा छुटाउन नहुने गन्तव्यहरू

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ मा अवस्थित छ, ब्रोम्दिङ । ब्रोम्दिङ डाँडा मात्रै नभएर सिङ्गो वडा नै पर्यटकीय महत्त्वले भरिएको वडाध्यक्ष जीवन सिं तामाङ बताउँछन् । “ब्रोम्दिङ डाँडा मात्रै होइन, सिङ्गो वडा नै पर्यटकीय गन्तव्य हो । ब्रोम्दिङमा आउनुुहुने पाहुनाहरूले ब्रोम्दिङ मात्रै घुमेर फर्किनुभयो भने पक्कै पछुताउनुपर्ने छ । वडामा जरुङ, सिम्टार, लवाङ, सुन्दरनागी, थमभन्ज्याङ जस्ता सुन्दर गाउँहरू त छँदैछन्, ती गाउँहरू आ–आफ्ना विशेषताहरू छन् । जस्तो कि हिमालयको श्रृङ्खला हेर्न ब्रोम्दिङभन्दा थमभन्ज्याङ राम्रो छ । वडामा खैलिङ्गेश्वरी, ऋषेश्वर महादेव, भूमिथान, पचलीभैरव, लगायत धार्मिक पर्यटकीय स्थलहरू पनि छन्,” उनले भने,“यति मात्रै होइन, यस वडामा थुप्रै झरनाहरु छन्, गुफाहरु छन्, खोलाहरु छन् । खोलामा असला माछा पाइन्छ । पाहुनाहरु फिसिङमा पनि रमाउन सक्छन् । त्यसैले म पाहुनाहरुलाई फेरी पनि भन्न चाहन्छु, ब्रोम्दिङ मात्रै घुमेर नफर्किनुहोला ।”

ब्रोम्दिङ पुग्नेले नछुटाउनुहोला 'डाँफे मुनाल पार्क'

Bromding-Hills-(4)-1709277812.jpg
धादिङ र मकवानपुरकाे सिमानामा मकवानपुरकाे कैलाश-२ ले  निर्माण गरेकाे डाँफेमुनाल पार्क । 

ब्रोम्दिङ डाँडा धादिङको बेनीघाट रोराङ गाउँपालिका, मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाको सङ्गमस्थल हो । ब्रोम्दिङ पुग्दा छुटाउन नहुने र प्रायः पाहुनाले नछुटाउने गन्तव्य हो डाँफे मुनाल पार्क । मकवानपुरको कैलाश गाउँपालिकाले ब्रोम्दिङ डाँडा रेन्जमा दुई जिल्लाको सिमा क्षेत्रमा निर्माण गरेको डाँफेमुनाल पार्क पर्यटकीय आकर्षण हो । पार्कसँगै रहेको ऐतिहासिक विष्णुकुण्डमा गुरु रिम्पोछेको मुर्ति पनि स्थापना गरिएको छ । त्यसैगरी पार्क नजिकै पिङ स्थापना गरिएको छ । पार्क परिसरमा सतीको चिहान समेत रहेको छ । सतीघाट सती प्रथाको अध्ययनका लागि खोजको विषय बनेको छ ।

कसरी पुग्ने ब्रोम्दिङ ?

सबैभन्दा पहिला त ब्रोम्दिङ पुग्न गाह्रो छैन । तपाईँ कुन ठाउँमा हुनुहुन्छ भन्ने कुराले बढी अर्थ राख्छ । काठमाडौं, पोखरा, भरतपुर, हेटौँडा, विरगञ्ज लगायत नेपाल ठूला पर्यटकीय एवम् औद्योगिक सहरहरूबाट तीनदेखि पाँच घण्टाको यात्रामा पुग्न सकिन्छ ब्रोम्दिङ । काठमाडौंबाट पुथ्वी राजमार्ग हुँदै धादिङको गजुरी, मलेखु, आदमघाट लगायत बजारबाट प्रवेश गरेर पुग्न सकिन्छ । काठमाडौंबाट गजुरी बजारसम्म ६३ किलोमिटर रहेको छ । गजुरीको चालिसेदेखि २६ किलोमिटरको दुरी (अफरोड) करिब डेढ घण्टामा पार गरेर ब्रोम्दिङ डाँडा पुग्न सकिन्छ । त्यसैगरी चर्चित माछा बजार मलेखुबाट मलेखु खोलाको तिरैतिर २९ किलोमिटर पार गरेर पनि ब्रोम्दिङ पुग्न सकिन्छ । आदमघाट बजारबाट प्रवेश गरेर पनि ब्रोम्दिङ पुग्न सकिन्छ । तर, पृथ्वी राजमार्गबाट प्रवेश गर्दा सबैभन्दा छोटो र सहज बाटोको लागि चाहिँ गजुरीको चालिसेबाट प्रवेश गर्दा राम्रो हुन्छ ।

काठमाडौंको कलंकीदेखि वडाको सबैभन्दा ठुलो गाउँ जरुङसम्म नियमित बस सञ्चालन हुन्छ । बसको यात्रा गरेर पनि पुग्न सकिन्छ । तर, बसको यात्रा गर्दा अलि बढी समय लाग्छ । जरुङ गाउँ देखि ४० मिनेट उकालो लागेपछि ब्रोम्दिङ पुग्न सकिन्छ ।

काठमाडाैंबाट ब्राेम्दिङ पुग्ने रमाइलाे मार्गः चन्द्रागिरी-चित्लाङ-टिस्टुङ-पालुङ-डाँडाबास-खैलिङ

काठमाडौंबाट चन्द्रागिरी, चित्लाङ, टिस्टुङ पालुङ, शिखरकोट, डाँडेबास हुँदै ब्रोम्दिङ डाँडा पुग्न सकिन्छ । काठमाडौंबाट ब्रोम्दिङ पुुग्नका लागि सबैभन्दा रमाइलो मार्ग हो यो । करिब ९० किलोमिटर चार–पाँच घण्टामा पार गरेर यस मार्ग हुँदै ब्रोम्दिङ पुग्न सकिन्छ । काठमाडौंको थानकोट चेकपोष्टबाट चन्द्रागिरी डाँडातर्फ प्रवेश गरेर करिब दुई घण्टामा थाहा नगरपालिका र कैलाश गाउँपालिकाको सिमाना रहेको सुन्दर डाँडेबास बजार पुग्न सकिन्छ । चन्द्रागिरी, चित्लाङ, टिस्टुङ, पालुङ आफैँमा चर्चित पर्यटकीय गन्तव्यहरु हुन् । टिस्टुङ उपत्यकाको बज्रयोगिनीमा रहेको कुन्छाल गाउँ अर्काे पर्यटकीय पर्यटकीय गन्तव्य हो । नेपालको पहिलो राजवंशी गोपालीहरुको सन्ततीहरुको बसोबास रहेको कुन्छाल गाउँले त्यस मार्गमा यात्रा गर्ने जोकोहीलाई मोहित पार्ने गर्छ । यस मार्गबाट ब्रोम्दिङको यात्रा गर्दा थुप्रै गन्तव्यहरूको अवलोकन गर्न सकिन्छ । डाँडेबाससम्म कालोपत्रे भएको छ ।

डाँडेबासदेखि करिब दुई घण्टा (३५ किलोमिटर) अफरोड यात्रा गरेपछि ब्रोम्दिङ पुगिन्छ । महाभारत पर्वत श्रृङ्खलाको डाँडैडाँडाको यात्रा, प्राकृतिक सुन्दरता, उत्तरतर्फ लामबद्ध दन्तेलहर जस्तै हिमश्रृङ्खला, तँछाडमछाड गर्दै उभिरहेका पहाडहरु, हरियाली वनजङ्गल, चराचुरुङ्गीहरुको आवाज, वन्तयजन्तुहरुसँग साक्षात्कार गर्दै यात्रा गर्दा रोमाञ्चकता बाहेक अरु भेटिँदैन । प्रकृतिसँग रमाउन, प्रकृतिका रङ्गहरुमा रङ्गिदै आफूलाई भुलाउन यो मार्ग उत्तम मार्ग हो ।

हेटौँडाबाट पनि साढे दुई देखि तीन घण्टामा पुग्न सकिन्छ ब्रोम्दिङ

बागमती प्रदेशको राजधानी हेटौँडाबाट मनहरी, राक्सिराङ हुँदै करिब (४२ किलोमिटर) तीन घण्टाको यात्रा गरेर ब्रोम्दिङ डाँडा पुग्न सकिन्छ । हेटौँडाबाट भिमफेदी, कैलाश गाउँपालिका हुँदै यात्रा गर्न पनि सकिन्छ ।

पोखराबाट पृथ्वी राजमार्ग हुँदै  (१३० किलोमिटर) धादिङको गजुरी बजार पुगेर ब्रोम्दिङ डाँडातर्फ प्रवेश गर्न सकिन्छ ।

कस्ता सवारीसाधनमा पुग्न सकिन्छ ब्रोम्दिङ ?

जुनसुकै मार्गबाट यात्रा गरेपनि ब्रोम्दिङ पुग्नको लागि अफरोड यात्रा गर्नुपर्ने हुन्छ । चार पाङ्ग्रे साना सवारीसाधन (ट्याक्सी, कार) मा गाह्रो पर्छ । मझौला खालका ग्रामिण क्षेत्रमा चल्ने बस, अन्य चारपाङ्ग्रे तथा सबै खालका दुई पाङ्ग्रे सवारी साधन लिएर ब्रोम्दिङ पुग्न सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update